अस्ट्रेलियाको सिड्नीमा आयोजित आदिकवि भानुभक्त आचार्यको एकसय संतानब्बेयौ जन्मजयन्तीका लागि तयार पारीएको कार्यपत्र - नेपाली भाषा साहित्य र प्रवासमा यसको अवस्था -
विश्वब्यापिकरण हुदैजादा नेपाली भाषा र साहित्यको भबिष्य कस्तो होला? - होम मूर्ति पन्त, क्यानबरा - भीमसेन सापकोटा, सिड्नी, साहित्य विधाको गहन अध्ययन र बिश्लेषणको आधारमा माथिको प्रश्नको उत्तर दिने प्रयत्न नगरि यो कार्यपत्रमा नेपाली भाषा र साहित्यलाई दाल भात जस्तै मानविय आबश्यकता पुरा गर्ने बस्तुको रुपमा हेरि यसको भबिष्यको बारेमा अडकलबाजि गरिएको छ। हाम्रो हेराईको जगमा नेपाली भाषा र साहित्यको माग (पढने चाहनाहरु) र त्यसको आपुर्ति (स्रष्टाका कृतिहरु) का साथै बिश्वब्यापिकरणका कारण तिनमा आउने समय सापेक्ष परिवर्तन हुने छन। हामिलाई पुरा बिश्बास छ यहाँहरुले साहित्य जस्तो सम्वेदनशिल, भावना प्रधान बिषयलाई माग र पूर्तिको कैंचिले काटि टुक्रा-टुक्रा पारेर यस्को मूल्य खोज्ने र भबिष्य जोख्ने हाम्रो दुस्साहस लाई सहानुभूतिपूर्बक लिनुहुने छ। यो लेखमा सबभन्दा पहिला हामि नेपाली भाषा र साहित्यलाइ परिभाषित गर्न कोसिस गर्ने छौ। त्यस पछि बिकासको क्रममा भाषा र साहित्यले पकडने गुणहरुलाइ केलाउन कोसिस गर्ने छौ र यसैका आधारमा नेपाली भाषा र साहित्यले हासिल गरेको विकासलाइ क्रमबद्ध गर्न कोसिस गर्ने छौ। त्यसपछि हामि बिश्वब्यापिकरणले उत्पन्न गरेको बर्तमान नेपाली समाजको परिबर्तनशिल चरित्रलाइ पकडेर हाम्रो भाषा र साहित्य को भबिष्यको दिशानिर्देशको अडकलबाजि गर्ने छौ। १ भाषा र साहित्य भनेको के हो? भाषा भनेको खाषगरि आवाज वा ईसारा द्वारा एक-अर्कामा भावना र बिचार सम्प्रेषण गर्ने माध्यम हो। भाषा पशु-पंक्षिको र सबै जीवमा पनि हुन्छ। त्यहि भाषालाइ शब्दहरुमा रुपान्तरित गरियो भने त्यो साहित्य बन्छ। शब्दमा मात्र सिमित साहित्यलाइ श्रुति-स्मृति (पुराण, दन्त्यकथा) भनिन्छ भने अक्षरमा रुपान्तरित भाषा लिखित साहित्य हो। साहित्यको माध्यमले कुनै एकबखत सम्प्रेषित भाबना बा बिचारलाइ पछि-पछि दहोर्यााएर तेहेर्यायएर हेर्न, भन्न, पढन वा सुन्न पनि सकिन्छ। यहि साहित्यले मान्छे र पशुमा भिन्नता ल्याएकोछ। साहित्य आत्माको अभिब्यक्ति पनि भएकाले यसमा हृदयका सम्वेदनाहरूले प्रतिनिधित्व गरेका हुन्छन। २ बहुभाषिक देश नेपालमा नेपाली भाषा र साहित्य भनेको के हो? नेपाली भाषा र साहित्यको बारेमा चर्चा गर्न खोजेकोले यो प्रश्न स्वाभाविकरुपले उठ्छ। नेपाल उत्तर र दक्षिणबाट आएका आप्रबासिहरुले निवास गरेको देश हो। बिभिन्न समयमा बिभिन्न नाकाबाट प्रबेश गरेका समुदायहरुले आ-आफ्नै आत्मनिर्भर प्रकृतिको बस्ति (राज्य) बसाले र आ-आफ्नै भाषा, भेष, भूषाको विकास गरे। ठाडा, उत्तर-दक्षिण बग्ने खोला र उचित यातायात ब्यबस्थाको अभाबमा यि समुदायहरु बिच पूर्ब-पश्चिमको अन्तरक्रिया अत्यन्तै न्युन रह्यो। चानचुन ५०० बर्ष अघि जुम्लातिर बोलिने खस भाषा राजा रजौटासंगै पूर्बतिर फैलन थाल्यो र नेपालको एकिकरण पछि यहि खस भाषा नेपाली भाषाको रुपमा प्रचलित भयो। यो भाषा सरकारि कामकाजको भाषाको रुपमा स्थापित भयो र बिभिन्न भाषा-भाषिहरुबिचको सम्पर्क भाषा पनि बन्न पुग्यो। बर्तमान नेपालमा नेपाली भाषाको जति विकास अरु भाषाको हुन सकेको छैन र यसै बिषयलाई लिएर भाषिक आन्दोलन पनि चलि रहेकै छ। यो लेखमा त्यो आन्दोलनको सार्थकताको बारेमा चर्चा गर्ने बिचार राखेका छैनौ । यहां नेपाली भाषा र साहित्य भन्दा त्यहि पुरानो खस भाषाबाट बिकसित भएको नेपाली भाषा र साहित्यलाइ समेटिएको छ जसको बिकासमा सबै जात-जाति, भाषा-भाषिले देश भित्र र बाहिरबाट यथोचित योगदान दिनुभएको छ। विश्वब्यापिकरणको ति भाषामा पर्न सक्ने प्रभाब पनि नेपाली भाषा र साहित्यमा पर्ने प्रभाब बाटनै अनुमान गर्न सकिने छ। त्यसै अनुसार ति भाषाहरुको श्रीबृद्दिको लागि उपयुक्त कदमको खोजि गर्नु पर्ने हुन्छ। यहाँनेर ध्यानदिन योग्य कुरा के छ भने नेपाली साहित्य भित्र कथा, कविता ,लेख ,गजल वा नाटक जस्ता कल्पना र रस प्रधान विधाहरू मात्रै पर्दैनन् यो भाषामा लेखिएका रासायन शास्त्र, भूगर्भ शास्त्र, राजनिति शास्त्र आदि सबै जीविकोपयोगि बिधाहरु पनि पर्दछन। जुन भाषामा सबै बिधाहरुको विकास भएको छ, जीविकोपार्जन र उन्नतिको लागि अरु भाषाको शरणलिन पर्दैन, तिनै भाषाहरुको उन्नति भएको छ। खास गरि बिज्ञान र प्रबिधिलाइ काखिमुनि च्याप्न नसक्ने भाषाहरु बिस्तारै लोप भएका छन। संस्कृत भाषाको ईतिहास हाम्रो आँखा अघिनै छ। यसलाइ बिर्सन हुदैन।
३. नेपाली साहित्यको बिकास क्रम नेपाली साहित्यको पहिलो झिल्को करिब ७५० बर्ष पहिलाको ढलोटे पत्र हो भनिन्छ। त्यसपछि बिस्तारै फैलिएको नेपाली साहित्यले पार गरेको बाटोलाइ हामिले स्तुति काल, ब्यबसायिक काल, अभिब्यक्ति काल र प्रयोग काल गरि चार चरणमा विभाजित गरेका छौ। (क) स्तुति काल: शुरु-शुरुमा लेखिएका नेपाली लेखोटहरु या त देवि-देवताका भजन र कथा हुन्थे या राजा महाराजाका वीरगाथा नै हुन्थे। अन्य मूल रचनाहरु त संस्कृतमानै लेखिन्थे। कमजोर अबस्थामा बलियोको स्तुति गर्नु स्बाभाबिकै भयो। यस्तै क्रममा भानुभक्तले अनुवाद गरेको (लेखेको) नेपाली रामायणले रामको गाथा साधारण नेपालीको पहुँचमा पुर्याूयो। धार्मिक भावाना भएका तर संस्कृतमा पहुँच नभएकालाइ नेपाली भाषाको रामायण वरदान भयो र साँच्चै भन्नेहो भने साम्राज्यबादि शक्तिलाइ रावणसंग तुलना गरेर सुगौलि सन्धिपछिको नेपालमा रामाबतारलाई पर्खेर चित्तबुझाउने बाटो दियो। त्यस्तै अरु स्तुति मुलक ग्रन्थहरु बिस्तारै थपिदै रहे। (ख) ब्यबसायिक काल: बिस्तारै नेपाली भाषामा दैनिक काम काजमा उपयोगि कर्म-काण्ड, धार्मिक कथा, ज्योतिष र आयुर्बेदका पुस्तकहरु पनि लेखिन बा उल्था हुन थाले। यो विकासले नेपाली भाषा र साहित्यलाइ समय सापेक्ष हिसाबमा भन्दा “जीवनोपयोगि” भाषामा स्थापित गर्नथाल्यो। यसले नेपाली साहित्यको माग बढायो। (ग) अभिब्यक्ति काल: यो कालमा नेपाली साहित्यको थप बिकास भयो। देशको शासन ब्यबस्थासंग असन्तुष्ट स्रष्टाहरुले छायावादि साहित्य (कविता) लेख्न शुरुगरे, रिमालको ‘आमाको सपना’ भन्ने कविता र लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ उदाहरण हुन। सामाजिक विसंगति र अन्तरसम्बन्धलाइ चित्रित गारि त्यसको न्यास, उपन्यास गरि भाषाका पाठकहरुलाइ मनोरञ्जन, शिक्षा, अर्ति, उपदेश दिने काम नेपाली साहित्यकर्मिले गर्नथाले। प्रवासमा बसेका नेपालीले यो कालमा नेपाली साहित्यको बिकासमा झनै ठूलो योगदान गरे। मुक्तक, काब्य, महाकाब्य, लेख, कथा, उपन्यास आदि निकै लेखिए।भारतको दार्जलिङ, खरसाङ,जलपाइगूडीबाट प्रकाशीत कृति देखि भारतको बनारसबाट प्रकाशइत 'गोर्खा भारत जीवन ' मकैको खेती " यसका उदाहरण हुन। (घ) ज्ञान, बिज्ञान र प्रयोगको काल: अभिब्यक्ति कालमा हासिल गरेको साहित्यिक कलालाइ थप परिमार्जन गर्दै यो कालमा नेपाली साहित्यमा नयाँ नयाँ प्रयोगहरुको थालनि भयो। कसैले नबुझ्ने कथा-कबिताहरु पनि लेखिए। तेस्रो आयाम आयो। सडक कबिता क्रान्ति तथा नाटकहरु मञ्चन भए। बिभिन्न बिधाका पुस्तकहरु नेपालीमा लेखिए बा अनुवादित भए। उच्च शिक्षामा नेपाली भाषामा पठन-पाठन हुन थाल्यो। नेपाली भाषामा लेखिएका पुस्तकको बजारमा माग बढन थाल्यो, यसबाट जीवनोपायोगी ज्ञान-बिज्ञानको शिक्षाका साथै समाजमा रहेका सङ्गति-बिसङ्गतिलाइ लिएर तिनका सम्भाब्य परिणाम झल्काउने वा बर्णन गर्ने हिसाबले लेखिएका कृतिहरु थपिए। जनसंख्या पनि बढ्यो। लेखने पनि बढे, पढने पनि बढे। नेपाली भाषा र साहित्यले छोटै समयमा निकै लामो फड्को मार्यो। यसैबिच संसारलेपनि परिवर्तनका निकै ठुला भङ्गालाहरुको फड्को मार्योा। विश्बब्यापार खुला हुदै गयो, शित युद्ध सेलायो। पश्चिमि संसारमा केटाकेटिले जन्मिन र बुढाबुढिले मर्न बिर्सनथाले। कामदारको अभाव खटकिन थाल्यो, बिदेशिलाइ ढोका खोलिए। भारत, भुटान, बर्मा र बृटिश सेनामा सिमित नेपालीको कामगर्ने थलो संसारभरि फैलियो। लाहुर गएपनि दशैंमा घर फर्कने नेपालीहरु अब ग्रिनकार्ड र पिआर, आइडि र सिटिजनसिप लिएर उतै बस्ने भए। दोहोरो नागरिकताको माग हुन थाल्यो। घर बेचेर पैसा उतै लाने भए। बिहा-वारी उतै गर्ने भए र पुराना छोरा-छोरि छन भने उतै लाने भए छैनन भने उतै जन्माउने भए। शिक्षा-दिक्षा त उतैको दिनेनै भए। यता नेपालमा हुनेहरु जन्मने बित्तिकैदेखी समुन्द्रपार जाने सपना पाल्ने भए। सक्ने नसक्ने सबैले नेपालमा हैन बिश्बबजारमा वीक्रिहुने शिक्षा-दिक्षाको खोजिमा लागे। यसरि विश्बब्यापिकरणले नेपाली समाजमा एउटा ठुलै उथलपुथल ल्याईदियो। सारांशमा, नेपालीहरुलाइ विश्बभरि छरिएका प्रबासि बनाइदियो। रोजि-रोटिको लागि आफ्ना परिबार र आफन्त संगको बियोग साँट्नुपर्ने बाध्यता झनै बढ्यो। ४ अब नेपाली साहित्यको भबिष्य कस्तो होला त, हँ? कुरा यस्तो छ। छुत-अछुतमा बाँडिएको समाजमा एउटा छुतको छोराको एउटा अति सुन्दरी अछुतको छोरीसंग मन मिले छ, प्रेम बसे छ। अनि? अनि के भो? साँच्चैभएको पुरै कथा भन्नेहो भने एउटा उपन्यास वा महाकाब्यनै बन्ला। ‘हाइपोथेटिकल’ कुरा गर्ने हो भने यसप्रसंगबाट हज्जारौं उपन्यासहरु निस्कन सक्छन। एउटा सम्भावनाको धागो तान्दै जाँदा - एउटा उपन्यास! विश्ब्यापिकरणको क्रममा विकसितहुदै आउने नेपाली साहित्यको भबिष्य पनि त्यस्तै त हो नि; के कस्तो हुन सक्ला भनेर अहिलेनै गरेको किटानि खालि सम्भाबनाहरुको संगालो हो, लेख्दैजानेहो भने थुप्रै उपन्यास बन्लान। तर साहित्यको माग पक्ष र पूर्ति पक्षलाइ मध्यनजर राखेर हेर्यौभने, हाम्रो कुराकेलाउन अलि सजिलो हुन सक्छ। विश्बब्यापिकरणको एउटा बलियो पाङ्ग्रो भनेको सस्तो र सुलभ संचार र यातायात हो। इन्टरनेटको ब्यापकता यसैको एउटा पक्ष हो। इन्टरनेटले भाषा र साहित्यको प्रकाशन र प्रचार-प्रसारलाइ साह्रै सजिलो र सस्तो बनाएको छ। कसैले एउटा कुनामा बसेर केहि लेख्योभने त्यसलाइ संसारभरका उपयुक्त पाठक समक्ष पुर्याइउन कुनै आइतबार कुर्न पर्दैन। कसैको चाकडिमा धाइरहन पनि पर्दैन। यस्को मतलब हो नेपाली साहित्यको पूर्ति पक्ष यसको बिकासको लागि साह्रै अनुकुल छ। त्यसैले होला हिजो आज हङकङमा नेपाली साहित्य दार्जिलिङमा भन्दापनि धेरै मौलाएको छ। संसारका धेरै देशमा नेपाली साहित्यिक समाजहरु गठन भएका छन, पत्र-पत्रिका प्रकाशित भएका छन र रेडियो कार्यक्रमहरु पनि सन्चालित हुन थालेका छन् साहित्यका विषयहरूलाई उठान गरेर ।
अस्ट्रेलियामा नेपाली साहित्य अस्ट्रेलियाकै कुरा गर्ने हो भने नेपालीहरुले यहाँ बसोबास सुरुगरेको पुगनपुग ४० बर्ष हुन थाल्यो। खास ओइरो सुरुभएको त त्यसतै १०-१५ बर्ष मात्रै भयोहोला। नेपालीहरूसङ्गै अस्ट्रेलियामा नेपाली भाषा र साहित्य पनि प्रवेश गरेको छ। यसै क्रममा असंगठित रुपमा केहि जागरुक युवा साहित्यकारले सन २००० मा सिडनिमा गजल तथा कवितावाचन कार्य राखेका थिए। बेला वखत केही साना समुह मिलेर अनौपचारिक रुपमा साहित्यिक कार्यक्रम भएको पनि अग्रज नेपालीहरू बाट सुन्न पाईन्छ। यो सँगै नेपाली संचार माध्यमहरुको स्थापनाले अस्ट्रेलियामा नेपाली साहित्यको उठानलाई ठुलो सहयोग पुगेको छ। नेपाली टाइम्स, असनेपालन्युज अनलाइन समाचार, नेपालीपत्र, नेपालअस्ट्रेलियान्युजले नेपाली समाचार, लेख र अन्य साहित्यिक सामाग्रिहरु प्रकाशन गर्दै आएकाछन। त्यस्तै, हिमालयन रेडियो (88.9), नेपाली आवाज (98.5), नमस्ते सिडनि रेडियो, असनेपालन्युज, मेलबर्न चौतारि, रेडियो झट्का, यस बि यस रेडियो, रेडियो हिमाल (पर्थ) ले नेपाली समुदायलाइ रुचिहुने खालका छुट्टै साहित्यका खुराकहरू , समाचार, गित, अन्तरवार्ता, छलफल, कबिता बाचन आदि कार्यक्रम प्रसारण गर्दै आएका छन। बास्तबमा भन्नेहो भने यि रेडियो र पत्रिकाहरु सबै कुनै न कुनै रुपमा इन्टरनेटमा जोडिएका छन, त्यसैले सानै भएपनि यिनिहरुको पहुँच बिश्बब्यापि छ। यस्तैगरि नेपाली कला, संस्कृती र साहित्यको उत्थानगर्ने उद्देश्यले नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान २ वर्ष अघि स्थापित भएको हो, जस्ले आज १९७औं भानु जयन्ति मनाइ रहेको छ। वर्षेनि नेपालका अग्रज साहित्यकारहरूलाई सम्झदै साहित्य सम्मेलनको जमर्को गर्दै आएको यो संस्थाले नयाँ र पुराना सबै सर्जकहरूलाई मौलाउने अवसरको ढोका खोल्दै आएको छ। यसले गत साल डा. नारायण प्रसाद खनाल, राजन शर्मा र जानकि पौडेलको सम्पादनमा एउटा कबिता संग्रह पनि प्रकाशित गरेको थियो। यसो त अस्ट्रेलियामा पहिलो पटक यो संस्थाले "भानु पुरस्कार" स्थापना गरि गत साल देखि प्रतिभाहरूको कदर गर्ने परम्पराको थालनी गरेको छ। यसै क्रममा गत साल साहित्य तर्फ 'भत्किएका पुस्तक"का लेखक भीमसेन सापकोटा तथा कला तर्फ सालु लिम्बुलाई भानु पुरस्कारले सम्मान गरेको थियो। यसैलाई निरन्तरता दिँदै प्रतिस्ठानले यो वर्ष साहित्य र कला तर्फ दुई अलग प्रतिभालाई सम्मान गर्न संस्थाले पुरस्कारको ब्यवस्था गरेको छ। साहित्यसङ्गै जोडेर गोर्खा नेप्लिज कम्युनिटी नामको संस्थाले मुनामदन खण्ड काब्यको गिती नाटकलाई पनि सिडनिमा प्रदर्शन गराएको थियो। जसले नेपाली साहित्यलाई पास्चात्य पर्दामा प्रदर्शन गर्ने परिपाटिको शुरुवात गरेको छ। प्रतिस्ठानले वर्षेनी गर्ने साहित्यिक र सांस्कृतिक कार्यक्रमले नेपालबाट पलायन भएका सर्जकहरूलाई उक्साहट मात्र नदिइ प्रवासमा नेपाली भाषा र साहित्यलाई संगठित रुपमा मलजल गर्ने अभिष्ट बनाएको छ। यति सोच्न गाहारो नपर्लाकि अस्ट्रेलियामा जस्तै अरुदेशमापनि यस्तै वा यो भन्दापनि चर्को रुपमा नेपाली भाषा तथा साहित्यिक सेबाहरुको आपूर्ति गर्ने संघसंस्थाहरु फैलदै गइरहेका छन। साहित्य घर अनलाइन मार्फत भएको विश्वब्यापी कविता सम्मेलन यसको उदाहरण हो। विश्वब्यापी साहित्य सन्जाल गठनलाई यसको एउटा अर्को उदाहरणको रुपमा लिन सकिन्छ। अब नेपाली साहित्यको माग पक्षलाइ हेरौं। देश बिदेशमा रहेका नेपालीहरुले कस्ता साहित्यिक रचनाहरु पढने गरेका छन त्यसको आंकडा हामिसंग छैन। तर नेपाल र नेपाली जनसमुदायको जीवनशैलिमा आउंदै गरेका परिबर्तनहरुलाई केलाएर नेपाली साहित्यको माग पक्षलाइ बुझ्ने कोशिस पक्कै गर्न सकिन्छ। पहिला नेपालभित्रै भइरहेका परिवर्तनलाइ हेरौं। नेपालको आर्थिक विकास अरु देशको तुलनामा धेरै-धेरै पछाडि परेका कारण रोजगारिका लागि नेपालीहरु बिदेशिने क्रम तिब्रहुदै गइरहेको छ। नेपाली भाषा र साहित्यको ज्ञानले विदेशमा रोजगार नपाइने हुनाले रोजगारिमूलक भाषातिर रुचि बढदै जानु स्बाभाबिकनै मान्नु पर्दछ। यस बाहेक नेपालमानै केहि नयाँ प्रबिधिको प्रयोग गरि उन्नति गरौं भन्नेलाइपनि नेपाली भाषा र साहित्य अपुग भइहाल्छ। बैज्ञानिक र प्राबिधिक शास्त्र नेपाली साहित्यको अंङ्ग भइसकेको छैन। त्यसैले सके पनि नसके पनि छोरा छोरिलाइ सानैदेखि अंग्रेजि माध्यमका बिद्यालयहरुमा पठाउने क्रम सुरु भएको ३० बर्ष भन्दा बढिनै भइसक्यो भनेमा अतिसयोक्ति नहोला। त्यसको मतलब नेपाली माध्यममा पढाइने सरकारी बिद्यालयमा बिद्यार्थिनै छैनन् भन्न खोजेको होइन। भन्न खोजेको के भने तिनिहरु पनि या त बिदेशमा कामगर्न जाने बा बसाइ सर्ने सपना बुनेर बसेका छन या प्रबिधि भित्र्याउन अंग्रेजि भाषाको ज्ञान बढाउने तरखरमा नै छन। यीनिहरुको आबश्यकतालाइ अहिलेको नेपाली साहित्यले पूरागर्न सक्ने अबस्थामा छैन। अब बिदेशमा रहेका नेपाली र नेपाली भाषीहरुलाइ हेरौँ र यिनका आबश्यकताहरुलाइ मनन गरौं। धेरैले नयाँ नागरिकताका पनि लिएको हुनसक्ने भएकाले यिनिहरुको ठुलै झुण्डलाई आजकल गैरआबासिय नेपाली भनिने गरेको छ। त्यसै झुण्ड भित्र हामि पनि पर्छौं। यो गैरआबासिय नेपाली समाजलाइ तिन भागमा बाँडेर हेरौं। पहिलो भागमा “पिआर” वा नागरिकता प्राप्तगरिसकेका पहिलो पिंढिलाइ राखौं। दोश्रोमा तिनका सन्तानलाइ राखौं र तिनिहरुलाइ दोश्रो पिंढी भनौं। तेश्रोमा अस्थाइ रुपमा रोजगारि वा अध्ययनको लागि बिदेश आएकाहरुलाइ राखौं, यो समुह स्बत: पहिलो पिंढी हुनेनै भयो। पहिलो पिंढी नेपालमा हुर्केको हुनाले यसलाइ नेपालको गाढा माँया छ, नेपाली साहित्यको स्बाद चाखि सकेको हुनाले यसमा उनिहरूको रुचि बढी पनिछ। यो पिंढिलाइ बिदेशमा बस्दा आफ्नो देश, बन्धु, बान्धब, साथिभाइ र मायालुहरु संगको बिछोडको पीडा छ। नेपालको भद्रगोलले त यिनिहरुको निन्द्रा नै हराएको छ। यो पिडाको अभिब्यक्ति उनिहरुले रचेका कथा, कबितामा स्पष्ट देख्नल सकिन्छ। कबिता नलेख्नेएहरु अरुले लेखेका त्यस्तै साहित्यमा आफ्नो मनको भाब पोखिएको पाउदा सन्तुष्ट हुन्छन। समयसंगै यो पिंढि पनि फेरिदै छ। यसमा आउने हरेक नयाँ पुस्ता बढि प्राबिधिक हुनेहुनाले नेपाल देखिनै नेपाली साहित्यबाट बिमुखभएर आउदै छन। यो समुह बाट नेपाली साहित्यले ह्रासोन्मुख योगदानको मात्रै अपेक्षा गर्न सक्छ, श्री बृद्धिको हैन। अब दोश्रो समुह तिर हेरौं। यो दोश्रोपुस्ता जुन देसमा हुर्किरहेको छ स्वाभाबिकै रुपले त्यहिंको मूल भाषा, संस्कृति, चालचलन मनपराउने भएको हुन्छ। त्यो समाजमा अन्तर्निहित प्रतिस्पर्धामा खरो उत्रने क्रममा योगदान दिन नसक्ने नेपाली भाषा सिक्ने र साहित्यको अध्ययन गर्ने फाल्तु समय यो पुस्तासंग छैन। यो दोश्रो पुस्तालाई हानि नपुर्याकइकन (अझ सके लाभ हुनेगरि) कसरि नेपाली भाषा र साहित्य तिर आकर्षित गराउन सकिएला भन्ने आफैमा एउटा शोधको बिषय हो। अब तेश्रो समुहलाइ हेरौं। यो समुहले अस्थाइ रुपमा नेपाल छोडेको छ र अन्ततोगत्वा नेपाल फर्कने मनस्थितिमा छ। यिनिहरुलाइ नेपालको हरेक कुरामा चासो हुन्छ – साहित्य देखि राजनीतिसम्म। यिनिहरु संसारको बिभिन्न भागमा रहेर बिभिन्न चालचलन, रितिरिबाज र कानुन संग तालमेल गरेर जीबिकोपर्जन वा अध्यन गरिरहेका छन। यिनिहरुको भाबना र पहिलो समुहको भाबनामा धेरै हद सम्म समानता भेटिन सक्छ। तर यिनिहरुले भोगिरहेका आपद बिपदहरु भने गुणात्मक रुपमै फरक रहेकाछन। नेपाल फर्कने टुङ्गो भएकोले नेपालमा भएका राम्रा नराम्रा घटनामा यो तेश्रो समुह धेरैनै बढि सम्बेदनशिल हुन्छ। नेपाली साहित्यको चिराग यो समुहले बोक्ने ठुलो सम्भाबना छ। तर अहिले को परिस्थितिमा यो समुहमा शैक्षिक उपलब्धिका हिसाबले पछाडि परेकाहरुको बाहुल्यता रहेको छ। त्यसैले यिनिहरुको योगदान भाषाले चाहेजति नहुन सक्छ। समष्टिमा भन्दा बिश्बब्यापिकरणले खलबल्याएको नेपाली समुदायलाइ केलाउदा नेपाली भाषा तथा साहित्यको भबिष्य त्यति उज्ज्बल देखिदैन। समयमानै सचेत भएर उपयुक्त कदम नचाल्नेहो भने संस्कृत जस्तै नेपाली भाषा तथा साहित्यको पनि अबमूल्यन हुने सम्भाबना बलियो देखिन्छ। ५ अब के गर्ने त? माथि गरेको चर्चाको निष्कर्ष के हो भने नेपालीले रोजगारिको लागि विदेश धाउन पर्ने अबस्थाको अन्त्यनै नेपाली भाषा र साहित्यको उन्नतिको मूल कडि हो। त्यो भन्नुको मतलब साहित्यिक विकासको जगमा देशको आर्थिक बिकास, रोजगारिको बिकास, बसेको छ भन्नु हो। यसको पनि मतलब - साहित्यिक बिकास चाहनेको कलम, त्यसैले, देशको आर्थिक बिकासका सबैखाले बाधकको बिरुध्द चल्नु पर्दछ भन्नेनै हो। यसै सिलसिलामा सबै प्रकारका बैज्ञानिक र प्राबिधिक साहित्यको नेपालीमा रुपान्तरण गरि नेपाली भाषालाइ अझबढि जीबनोपयोगि बनाउन पनि जरुरि छ। यसो गरेमा नेपालका युवा पुस्ताले आबश्यक ज्ञान-सीप नेपाली भाषामानै आर्जन गर्न सक्नेछन्। यसले नेपाली भाषा र साहित्यको भण्डार बृद्दी मात्रै गर्दैनकि, नेपाली साहित्यलाई चिरञ्जिबिनै बनाइदिन्छ। बैज्ञानिक र प्राबिधिक साहित्यको कमिको कारण संस्कृत भाषाको पतन भएको हामिले बिर्सन हुदैन। त्यस्तै नेपालका अन्य भाषामा रचिएका उत्कृष्ट रचनाहरु नेपालीमा र नेपालीमा लेखिएका वा अनुबाद गरिएका उत्कृष्ट कृतिहरु अन्य भाषा-भाषिकाहरुमा अनुबाद गरेर नेपालमा प्रचलनमा रहेका सबै भाषा र साहित्यलाई सजिब र सम्पन्न बनाउन सकिन्छ। आफ्नो मातृभाषा र नेपाली दुबैमा कलम चलाउन सक्षम महानुभाबहरुले यसबिषयतिर गम्भिर भएर योगदान गर्ने बेला आएको छ। यि बुँदाहरु सँगै अरु केहि थप कार्यक्रमहरु पनि गर्दैजान सकिन्छ जसले नेपाली भाषा तथा साहित्यको उत्थानमा अलिकति भएपनि सहयोग पुर्यािउने छन। जस्तै - विदेशमा सञ्चालित नेपाली संचार माध्यमहरूले आफ्ना कार्यक्रमहरुलाइ स्तरिय भाषामा प्रस्तुत गर्ने, साहित्यको सेवामा गठित संस्थालाई अन्य संस्थाले आवश्यक टेवा दिने, हाल सिड्निमा सन्चालनमा आएको नेपाली भाषा स्कुल जस्ता पाठशालाको विस्तार गर्ने, नेपालका अन्य सबै भाषाहरूको यथोचित संरक्षण गर्ने, नेपाली भाषालाइ सामुदायिक भाषाको रुपमा मान्यता दिन स्थानिय सरकारहरुलाई अनुरोध गर्ने, नेपाली साहित्यका प्रस्तुतिलाई नेपालीसंचार माध्यमले प्राथमिकता दिने जस्ता कदम चालिएमा प्रवासमा शुरु भएको नेपाली भाषा साहित्यको दियो पक्कै ज्योतिर्मय बन्दै जानेछ ।। ।।अस्तु ।। ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~