नेपाल सरकार द्वारा अब मशिन रिडेबल पासपोर्ट्लाई मात्र प्राथमिकता दिने तयारी -अस्ट्रेलियास्थित नेपाली राजदूतावासको विषेश सुचना-
असनेपालन्युज सिडनी। अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको प्रावधान अनुसार अव नेपाल सरकारले पनि मशिन रिडेबल पासपोर्ट्(एम आर पि) जारी गर्ने तयारी गरेको छ। अस्ट्रेलियास्थित नेपाली राजदुतावासले प्रेषित गरेको एक विज्ञप्ती अनुसार नेपाल ले अव यहि ३१ मार्च देखि हस्त लिखित राहदानी जारी गर्न बन्द गर्ने छ।असनेपालन्युजलाई दुतावासद्वारा प्राप्त सुचनाको पूर्ण विवरण यस प्रकार रहेको छ;
हस्तलिखित तथा मेशिन रिडेवल पासपोर्ट (MRP) सम्बन्धी अत्यन्त जरुरी सूचना
१. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को प्रावधान अनुसार Machine Readable Passport (MRP) जारी नगरिसकेका सबै सदस्य राष्ट्रहरुले आगामी ०१ अप्रिल २०१० (१९ चैत्र २०६६) देखि मेशिनारा विवरण पढ्ने तथा वाहकको वैयक्तिक विवरण भण्डारण गर्न सकिने राहदानी MRP अनिवार्य रुपमा जारी गर्नुपर्ने भएकोले नेपाल सरकारले पनि MRP जारी गर्नको लागि आवश्यक तयारीहरु गर्दै आएको छ ।
२. हाल जारी गरिदै आएका हस्तलिखित राहदानीहरु पासपोर्ट अव ३१ मार्च २०१० सम्म मात्र जारी गरिने छ । त्यस पछि परराष्ट्र मत्रालयको निर्देशन अनुसार दूतावासले कुनै हस्तलिखित राहदानी जारी गर्ने छैन । अतस् राहदानीको म्याद समाप्त हुनै लागेका तथा नेपाल सरकारले MRP जारी गर्न अगावै राहदानी लिनुपर्ने अष्ट्रेलियामा रहनुहुने नेपाली नागरिकहरुले यहि मार्च ३१, २०१० अगावै हस्तलिखित राहदानीका लागि राजदूतावासमा आवेदन गर्नु पर्नेछ ।
३. हाल जारी भैसकेका वा ३१ मार्च २०१० सम्म जारी गरिने हस्तलिखित राहदानीहरु लिई मिति २४ नोभेम्वर २०१५ सम्म विदेश भ्रमण गर्न सकिने छ । मिति २४ नोभेम्वर २०१५ पछि विदेश भ्रमण गर्नेहरुले भने अनिवार्य रुपमा MRP लिनुपर्ने भएकोले सम्वन्धित सवैले आ-आफ्नो अनुकुल समयमा सो मिति अगावै MRP लिनुपर्ने छ ।
४. ICAO को प्रावधान अनुसार केन्द्रीकृत गरी सुरक्षित स्थानवाट मात्र जारी गर्नुपर्ने भएकोले MRP साधारण राहदानी जस्तो तुरुन्त जारी गर्न नसकिने र हाल जारी भएसरह प्रत्येक जिल्ला र विदेशस्थित नेपाली नियोगहरुवाट गर्न नसकिने भई केन्द्रियरुपवाट मात्र अर्थात परराष्ट्र मन्त्रालयवाट मात्र जारी गर्ने व्यवस्था हुनेछ । अष्टे्रलियामा रहेका नेपालीहरुको हकमा यहां स्थित नेपाली राजदूतावासको माध्यमवाट MRP को व्यवस्था मिलाईने छ । यस सम्वन्धमा विष्तृत जानकारी पछि उपलव्ध गराइनेछ ।
5. यस सम्बन्धमा थप जानकारी चाहिएमा राजदूताबासको कार्यालय टेलिफोन नं ०२ ६१६२१५५४ र ०२६१६२१५५६ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।